भेलदेखि जेलसम्म : एक अचम्म अध्यात्म आरोहीको यात्रा

जीवन एउटा संयोगको खेल हो । प्रयोगको प्रयोगशाला पनि । समाजमा अनेकौँ यस्ता र यतिबिघ्न व्यक्तिहरू छन् जो सम्भावनाका द्यौरालीबाट खसेर दुर्गन्ध खोँच गनाएका छन् । केही यस्ता व्यक्तिहरू पनि हाम्रा सामुमा देख्न पाउँछौँ जो विपरीत वातावरणका विरुद्ध एक्लो विद्रोहको पाठशाला खोल्दै द्यौराली पनि नाँघेर शिखरारोहणतिर अग्रसर हुन्छन् । सालाखाला समाजका व्यक्तिभन्दा भिन्न सोचभित्र यो यात्रा सम्भव छ । यस्ता केही व्यक्तिमध्येका एक हुन् मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका सर्वपक्षीय संस्थापक अध्यक्ष हाल संरक्षक हरिभक्त सिग्देल ।

अक्षरारम्भकै क्रममा अक्षरविरुद्धको नायक बन्छु भन्ने बालहठी हरिभक्त सिग्देल पिता आशयविरोधी विद्रोहको अभिनेता बने । दाजुको थुकाइको मौखिक सिस्नोपानीले चुटिँदा यसको पनि विरुद्ध स्वसङ्कल्पले अक्षरको ओच्छ्यान लगाएर समाधि कस्दा अघोषित रूपमा नै पिता वाक्याशयकै पथारोहणमा पुगी डिग्री अर्थात् एमए गर्न पुगे, गरे ।

पेशागत दृष्टिले साहसी पुलिसको फुली छातीमा झुण्डाएर जीवनयात्राको सङ्घारबाट निस्केका हरिभक्त सिग्देल काठमाडौँका गल्ली र गल्छेडा डेरा गर्दै र सर्दै जीवनका गहिरा दुःखसँग रुझ्दै अनि भिज्दै अगाडि बढे । हिम्मतको ज्वाला साहसी गुण्डो हरिभक्तसँग अभिभावकको नकारात्मक सल्लाह सुझाबविरुद्ध आफू यसलाई नै मान्छे बनाउँछु भन्दै विवाहको सिउँदो ग्रहण गरेकी मीना सिग्देलको प्रवेशपछि पेशागत उन्नतिको मध्यमशिखर डिएस्पीबाट अवकाश प्राप्त हरिभक्त सिग्देलभित्रको नजानिँदो असलपन, राज्यव्यवस्थाका अन्तर संयन्त्र सञ्चालनप्रतिको कुशलताकै परिणाम हुनसक्छ अद्यावधि मेडिकेयर अस्पतालको प्रशासन प्रमुख र माछापुच्छ«े बैंकको निर्देशक समूहसँग आबद्ध छँदै छन् । हनुमान चालिसा, रुद्री-चण्डी र गीतासम्मका संस्कृत वर्णमालामा रहेका अक्षरलाई अनुवाद कलाभित्र पसेर सिर्जनात्मक अक्षरसँग समेत अनजानमा नै कुस्ती खेल्दै गरेका र अध्यात्मचिन्तनको भुमरीभित्र पस्न स्वभावैले घच्घच्याइएका हरिभक्त सिग्देल बिस्तारै यो भोक बिर्सिंदै परिपक्क हुने अवसरको यात्रामा पाइला टुक्टुकाउन पुगे ।

सङ्ख्यात्मक हिसाबले सच्चालीसवटा कृतिका चाङ जनसमाजसमक्ष प्रकाशित रूपमा लगाइसकेका हरिभक्त सिग्देलको यो उचाइ यसै पनि आँकिनसक्नु त छँदै छ । चौबीसै प्रहर व्यस्त जीवनको बाहिरी हतारोमा रहेका नेपाली साहित्यिक यात्राको अध्ययन इतर रहेर पनि यति बिघ्न साहित्य लेखनप्रतिको झुकाब रहनु आफैँमा जन्मजात यसप्रतिको चासो, संस्कार एवं अन्तर प्रेरणाको उपज हो नै । वर्तमान विश्वमा प्रचलित चार धर्म–हिन्दुइजम, बुद्धिजम, इस्लामिक र क्रिश्चियनका जन्मकुण्डली उतार्दै, अन्य सानामसिना धर्सामा रहेका धर्मका धार पनि केलाउँदै आफ्ना रायसमेत समावेश गरी सिर्जित अध्यात्म चिन्तनको भीमकाय कृति–‘एकमात्र’ प्रकाशित भएपछि यस क्षेत्रको चुरो चुम्न र धुरो मुस्कुराउन सफल हुन पुगे हरिभक्त सिग्देल ।

अध्यात्म चिन्तनमा दुई धार रहेका छन् । कर्मकाण्डी अन्ध परम्परा जसमा विकृतिका टुकुचा बगेका छन् । अन्धविश्वासका बाढीले समाजलाई निथ्रुक्क भिजाएका छन् । मूर्तिपूजा, काजकिरिया, अनेकौँ कथित नाममा गरिने पूजाआजाले चेतना चुम्ने सम्भावित व्यक्तित्वहरू पनि जातीय धर्मका आ–आफ्ना छुद्र विकृतिभित्र फोहोरका थुप्रा बनेर गनाउन विवश छन् । यतिसम्म कि एउटा असल गरिबलाई पाँच रुपैयाँ दिन दाँतबाट पसिना चुहुने नेपाली संस्कार पुराण, रुद्री-चण्डीका कथित महायज्ञका आसनमा उभिएर पाँचौँ करोड सुम्पेको सानमानाका पोरा फुलाउँछन् । यस विकृत परम्पराले नेपाली सीमामात्र नभएर विश्वलाई नै पानीमा रुझेको स्याल जस्तै बनाएको छ । मानव ताज लाएर खाक बनाउने पनि यही परम्परा हो ।

धर्मका नाममा वर्गभेद, जातिभेद, समुदायभेद गरी तेस्रो विश्वको मुख उघ्रिँदै गरेको वर्तमान विश्वको कहालिलाग्दो अवस्था यही पिण्डे, रातो बाकस र चिहानमा फूलका गुच्छा चढाएर गर्वका छाती उचाल्ने पनि यही अन्ध परम्पराको उपज हो । यसै मानवताका अग्ला शिखर विनाशी छुद्र सुपरसोनिक क्षेप्यास्त्रका निर्माणक, आविष्कारक, भूमिगत सुरुङ्संस्कार कर्मकाण्डी अध्यात्म परम्पराकै आगमन उपज हो ।

विशुद्ध दार्शसनिक धार अध्यात्मको आकल्प धार हो, अविजित प्रवाह हो जसमा हत्तपत्त कुनै पनि व्यक्ति प्रवेश गर्न सक्दैन । यसतिर उन्मुख हुन निकै ठूला जीवन/जगत्मा देखिने कठिनभन्दा कठिन सङ्घर्षका पहाड फोड्न सक्नुपर्छ, प्रलोभनका बरफढिस्काहरू तोड्न तयार हुनु अनिवार्य छ, सङ्कीर्ण पारिवारिक सीमाका बन्धनभित्र रहेर पनि यिनबाट निरपेक्ष रहन सक्नु अपरिहार्य आवश्यकता हो, नातानाला आफन्त छन् भएर पनि नहुनुको सुन्दर संसार जहाँ इष्र्या हुन्न, आक्रोश हुन्न, जलन हुन्न, जैविक अनुराग तृष्णा र वितृष्णाका कुनै चेष्टाका चेहरा आफूमा रहन्नन् त्यो उद्दाम उदात्त अन्तर चेतनाको झल्मलाउँदो दीपशिखाको अर्को नाम हो-अध्यात्म दर्शन ।

भौतिक चाहनाका लिप्साजन्य खुड्किलामा रमाउने व्यक्ति त यसतिर पाइला उचाल्नसम्म पनि सम्भव छैन, टुक्टुकाउने त कुरै छाडौँ । समता, शान्ति, सौजन्य, समग्रको खोज, भ्रातृत्व, भाइचारा, अखण्डता, सीमाहीनता, विभेदरहितता अद्वैतता यसका मुटु हुन् । मिलनसारिता, परोपकारिता, असञ्चयप्रतिको अन्तर झुकाब, आफू मेटिएर पनि अभावग्रस्तमा, अशक्तमा सहयोगका हात फैलाउँदै आफू सङ्कटापन्न परिस्थिति व्यहोर्न तत्पर व्यक्ति आस्थाको केन्द्र हुनु यसका आभूषण हुन् । मन, वचन र व्यवहारसम्मले समर्पित हुन सफल आध्यात्मिक यस दर्शनका उन्नायक स्पष्ट बुझाइका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् ।

लेखन र अध्ययनको धुरो सांसारिक÷व्यावहारिक लिप्साका लेस निख्रिनसकेकाले यस उचाइमा पुगिनसके पनि चिन्तन र अदृश्य गरिने व्यवहारको चाहिँ हरिभक्त सिग्देलको व्यक्तित्व यसै वरिपरि घुम्दछ । व्यवहार र चिन्तनमा ठ्याम्म समानता नआइसकेर द्वैधता देखिनु झट्ट हेर्दा अनौठो लाग्छ तर जुन परिवेश, परिधि, स्वभाव र संस्कारबाट हरिभक्तको आगमन भएको छ यस अनुपातमा उनको अहिलेको जीवनबिन्दु एकमात्र भित्रको चिन्तन प्रवाह विशुद्ध आध्यात्मिक चेतनाको चहुरमा परिभ्रमण गर्न आइपुगेको मान्नै पर्दछ ।

सुनको फाली दिएर फलामको सियोसम्मको पनि गरेका कामलाई प्रकाशमा ल्याउन नचाहने मौखिक उद्घोष हरिभक्त सिग्देलको उच्च आध्यात्मिक असल दार्शनिक प्राप्तिको उचाइ हो भने पारिवारिक भयको लेस, नाताकुटुम्बप्रति रहिरहेको मोहको जाल यस पूर्णतालाई अलि खण्डित गर्ने स्वभावको सञ्जाल हो । विश्वकै प्रायः मानिसहरू प्रकाशित कृतिमा छरिएका अक्षर भौतिक मूल्यमा जोखेर त्यसबाट प्राप्त आम्दानीले अर्कालाई गरेको सानमा रमाउँछन् । नेपालकै सन्दर्भमा भन्ने हो भने त मेरा यति हजार कृति बिक्री भए यो यो ठाउँमा भनेर सञ्जालमा सजाउँछन् नभए पनि ।

अनावश्यक आर्जनको भोक भौतिकवादको छुद्र बिन्दुमा पर्दछ । विपरीत हरिभक्त सिग्देलसँग भीमकाय कृति आफ्नै श्रमका आर्जनले प्रकाशित गरेर लोकार्पणका समय आएको जनलहरलाई निःशुल्क वितरण गर्ने र अक्षर बेच्नु पाप हो भन्ने मानसिकताको विकास हुनु आफैँमा जन्मजात उज्यालो आध्यात्मिक दर्शनको आलोक हो । यतिमात्र नभएर क्षमता भएका तर आर्थिक अशक्त व्यक्तिका कृति प्रकाशित गर्नमा सधैँ तत्परता प्रदर्शन गर्नु यही अध्यात्मको उपज हो ।

चिन्तन शुष्क हो, रूखो विषय हो । यसको बासस्थान निर्जन डाँडामा हुन्छ । यो प्रायः पग्लन्न असल अध्यात्म नै किन नहोस् । यसले तर्कमा सतर्क भएर मात्र विश्वास राख्छ । तार्किक अन्त्य यसको प्राप्ति हो तर हरिभक्त सिग्देल हरियो जङ्गल र फूलबारीमा अझ बढी घुम्न रुचाउँछन् । यो उनको कवित्व चेतनाको चाखलाग्दो अर्को पाटो हो । यसकै उपजका रूपमा-‘एकमात्र’ गद्यकविता सङ्ग्रह, ‘म अमर छु’ पद्य महाकाव्य, ‘गौराङ्ग’ पद्य खण्डकाव्य पछिल्लो प्रहर प्रकाशित भएर नेपाली साहित्य भण्डारमा सम्प्रेष्य भइसकेका छन् । यी कृतिमा अध्यात्म चिन्तक हरिभक्त सिग्देलको त्यो हरित भावना उर्लदो बैँसालु वयमा मुस्कुराएको छ ।

‘गौराङ्ग’ खण्डकाव्य यसै पनि एक जोगीको जीवन कहानी हो । निडर, असञ्चयी अद्भूत जोगी जीवनको आकर्षक जीवन जसले भिक्षा मागेन, उसका बासस्थानमा पुगेको भिक्षा पनि आफूले तीन भागको एक भागमात्र पेट भरेर उब्रेको सम्पूर्ण सम्पत्ति असल गरिबको उद्धारमा समर्पित ग¥यो । के यो व्यावहारिक सन्दर्भमा देवकोटा समकक्षी विशुद्ध अध्यात्म धाराको अनुपमपात्र होइन र ?

‘म अमर छु’ पद्यात्मक महाकाव्य हो । झट्ट शीर्षक पढ्दा आत्मश्लाघी जस्तो लागे पनि यस्तो होइन यो कृति । ‘म’ हरेक मले आफूलाई उचाइमा उकाल्न सांसारिक सङ्कीर्ण मायाजालका बन्धनलाई तोडेर एकमात्र ईश्वर जो आफ्नै आत्मा हो त्यसलाई आगामा सुन पगाले झैँ पगाल्दै खाँटी बनाउनुपर्दछ । व्यक्ति मोह, परिवार मोह, वर्ग मोहका बन्धन तोड्दै उच्च/उदात्त/कञ्चन बन्न सके आफैँ ईश्वर हो । अन्यत्र कहीँ कतै खोज्नु पर्दैन को अध्यात्म चुरो देवकोटेली मर्म सन्देश यसको अन्तर्य हो, मर्मबोध हो ।

‘एकमात्र’ मुक्त कविता सङ्ग्रहका पङ्क्ति पङ्क्तिभित्रको मर्मबोध पनि यसै अर्थभित्र केन्द्रित छ । हो, राज्यव्यवस्थाभित्रका सङ्कीर्ण सांसारिक दायित्वका घेरामा रहेकाले, कुर्सीमै भएकाले व्यवहार र विचारमा केही विरोधाभास छन्, विपर्यय छन् । मनोजगत् नबुझी सतह हेर्नेले व्यक्तिमोह, परिवारमोह, वर्गमोहका अंश पनि भेट्न सक्छ तर कृष्णको चतुर मानसिकताको मन्त्रजाल पनि हरिभक्तसँग भएकाले देखावटी रूपमा सतहमा रहेका वर्गविशेषलाई पनि सबैलाई सन्तुष्टिमा राख्दै आफू अध्यात्म उचाइको अनन्त यात्रा चढ्नु आफैँमा अर्को गौरवमय चुली हो ।

बरू परिवारले आफ्नो ठान्नु, राज्यव्यवस्थाका दायित्व सुम्पिनेले विश्वस्त मान्नु, भौतिक यात्रामा रम्नेले सहयात्री सम्झनु, बाहिर देख्नेले आफूजस्तै देख्नु, वचन सुन्नेले आहाको आकर्षणमा आँक्नु चाहिँ उनीहरू/हामीभित्रको भ्रम हो । भ्रमभित्र दुनियाँ भुलाएर आफू चाहिँ त्यो सफा, निस्कलङ्क, निरापद बाटामा अध्यात्म आँत फिजाउँदै नथाकी, नरोकी दौडिनु उनको अर्को बैँसालु अध्यात्म चेतको शिखरारोहणतिरको निर्वाध गति हो । गन्तव्यतिरको अगाध विश्वास हो ।


http://ehimalayatimes.com/2024/11/285362/