परिमार्जित समयसापेक्ष आत्मिक चिन्तन आधारित पद्य लेखन नै मेरो रोजाई हो

तारकेश्वर न.पा. वडा नं. ७, जितपुर जन्मनुभई हाल ‘हरिको घर’ बुढानिलकण्ठ न.पा. ९, मण्डिखाटार, बरफेदी, काठमाडौं स्थायी बसोबास गर्दै आउनुभएको साहित्यकार हरिभक्त सिग्देल ‘महेश’ निकै लामो समयदेखि साहित्य साधनामा अनवरत कलम चलाउदै आउनुभएको छ । एम. पि. ए. सम्मको अध्यन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौंबाट गर्नुभएको साहित्यकार हरिभक्त सिग्देल ‘महेश’ प्रहरीबाट पूर्व प्रहरी नायव उपरीक्षक हुनुहुन्छ । प्रवल गोरखा दक्षिण बाहु चौथा र प्रहरी दीर्घ सेवा पट्ट समेत दश (१०) पदक तथा विभुषण प्राप्त गरिसक्नु भएको साहित्यकार हरिभक्त सिग्देल ‘महेश
Project Preparation and Analysis Nepal Administrative Staff College र प्रहरी अधिकृत विशेष तालिम समेत तेह्र (१३) : Hostage Negotations Course Louisiana State University, USA समेत पाँच (५) मेची देखि महाकालीका हिमाल देखि तराई सम्मका ५५ जिल्ला तालिम प्रशिक्षणको क्रममा पुग्नुभएको छ । त्यस्तै भारत, मोजाम्बिक, मलावी, जिम्वाबे, जाम्बीय, साउथ अफ्रिका, तान्जानिया, इजिप्ट,संयुक्त राज्य अमेरिका, रुस, बेलारूस, अष्ट्रेलिया, थाइल्याण्ड लगायत भ्रमण गरिसक्नुभएको हरिभक्त सिग्देल ‘महेश’
श्री मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौं र मुक्तिनाथ दर्शन त्रैमासिक सहित अन्य चौध (१४) संस्थाहरुमा आवद्ध हुनुहुन्छ । प्रशस्ती पत्र, कदर पत्र, सम्मान पत्र, प्रशंसा पत्र र अभिन्नदन समेत जम्मा तेइस ( २३ ) – श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहदेव, सम्माननिय राष्ट्रपति रामवरण यादव र प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेल समेत विभिन्न विशिष्ट व्यक्तिहरुबाट विभिन्न मिती र समयमा । शिक्षा, सुरक्षा स्वास्थ्य र बैंकिङ क्षेत्रमा महत्वपुर्ण पदमा रहि जिम्मेवारी समाल्नु भएको हरिभक्त सिग्देल ‘महेश’ आत्धात्मिक खोज अनुसन्धान, पेशागत, अनुवाद, कविता संग्रह समेत गरि पैतालिस वटा कृतिहरू प्रकाशित गरिसक्नुभएको हरिभक्त सिग्देलसँग ” सुसन्देश”को लागि नुवाकोटबाट सुमित्रा सुमीले तयार पार्नुभएको साहित्यिक भलाकुसारी :
तपाईलाई हार्दिक स्वागत छ ” सु-सन्देश भेटवार्ता” मा !
१) तपाईं साहित्य लेखनमा लाग्नुभएको कति समय भयो ? तपाइको साहित्य लेखनको प्रारम्भ काल सम्झनु पर्यो भने कसरी सम्झनुहुन्छ ?
( मैले अध्ययन गरेको विद्यालय श्री ग्रामसेवा प्रौढ हाइ स्कुल, धर्मस्थलीको वार्षिक उत्सव २०२४ साल जेठ ४ गते किसान कविता लेखेर सान्त्वना पुरस्कार प्राप्त गरेको थिएँ । त्यति बेला म १३ वर्षको थिएँ । लेख्नु पर्छ भन्ने प्रेरणा त्यसैबाट प्राप्त भएको हो ।
२) साहित्य लेखनसँगै के मा व्यस्त हुनुहुन्छ अचेल ?
. (एक मात्र महाकाव्य अन्तिम चरणमा छ, साथै अस्पताल प्रशासन र बैंकका मिटिङ्गहरूमा समय बित्छ, भ्याई नभ्याई नै हुन्छ
३) तपाईले साहित्य लेखनको क्रममा साहित्यका कुन कुन विधामा कलम चलाउनु भएको छ ?
– कविता गद्य / पद्य, खण्ड / काव्य, महाकाव्य, मुक्तक, गजल, कथा, अनुवाद साथै अनुसन्धानात्मक कृतिहरू जस्तो एकमात्र, विश्व ब्रह्माण्डपति श्री पशुपतिनाथ र दक्षिणकालीको सेरोफेरो, केही पेशासँग सम्बन्धित सुरक्षा, र सवारी ज्ञान माला आदि ।
४) साहित्यलाई किन रोज्नु भयो? जीवन र साहित्यको अन्तर सम्बन्ध कस्तो देख्नुहुन्छ ?
– साहित्य नै जीवन विकास, उत्पत्ति र विलय हो । साहित्यलाई साथी बनाएर रम्न उन्नति गर्न मानव अधिकारको संरक्षण सम्वर्धन र सेवा गर्न सहज हुन्छ त्यसैले साहित्य रोज्नु स्वभाविकै ।
साहित्य विनाको जीवन कल्पना पनि गर्न सकिदैन, चाहे त्यो निरक्षर किन नहोस् उसमा साहित्य सल्बलाई रहेको हुन्छ, साहित्य व्यक्त र अव्यक्त रूपमा सर्वत्र सर्वव्यापक छ त्यसैले साहित्य विनाको जीवन कल्पना पनि गर्न सकिदैन ।
५) समाज रूपान्तरणमा साहित्यको भूमिका कस्तो रहला ?
– मानव सभ्यताको सुरूवात, जगली अवस्था, ढुङ्गे युगदेखि आजको चरम उत्कर्षको अवस्थासम्म आउँदा मानव विकासका प्रत्येक चरणमा साहित्यले उच्चस्तरीय भूमिका निर्वाह मात्र गरेको छैन कि अगुवाको काम गरेको सबै सामु छर्लङ्ग छ
(६) अचेल साहित्यमा अत्याधिक कलम चलाउनेहरू भेटिन्छन् तर परिमाणात्मक रूपमा जति लेखिएका छन् गुणात्मक रूपमा त्यति साहित्यको विकास हुन सकेका छैन किन होला?
– साहित्यमा कलम चलाउनु नै सकारात्मक कुरा हो, जजसले साहित्यमा रूचि राखी कलम चलाउनु हुन्छ वहाँहरू सबैमा साधुवाद छ परिणाम दिने साहित्य लेख्ने क्षमता अभ्यास र ईस्वरीय वरदान भएकोले सबैमा लेख्दैमा परिणाम दिनु पर्छ भन्ने छैन । कुनै देशको राजनीति र सामाजिक परिवेशले परिणम दिनु पर्ने समाज उपयोगी साहित्यलाई पनि कुल्चिएर दबाएर राखेको पाइन्छ तर सत्य सत्य नै हो सुवासलाई जति छोपेर राखे पनि मिठो सुवास दिएकै हुन्छ ।
७) साहित्यकारलाई दिने र साहित्यकारले लिने साम्मान पुरस्कारको सम्बन्धमा तपाईं के भन्नुहुन्छ ? – निस्पक्षता न भगवानको घरमा थियो, न मानव समाजमा छ बढीभन्दा बढी निस्पक्षता अवलम्बन गर्न खोज्नु सहनीय कुरा हो साहित्यिक सम्मान र पुरस्कारले साहित्यकारहरूलाई केही हदसम्म भए पनि साहित्य लेखनमा उत्साहित गर्छ नै त्यसैले सकेसम्म निस्पक्षता अवलम्बन गर्न प्रयत्न गर्नु पर्दछ
८) तपाईका कुन कुन कृतिहरू प्रकाशित छन् ? अब तपाईंको नयाँ कृति के पढ्न पाउँछौं हामीले ? – मेरा विविध विधाका ४४ चवालिस कृतिहरू प्रकाशित भई सकेका छन् । अब सायद २०८० मा होला एक मात्र माहाकाव्य, एक मात्र गद्य कविता सङ्ग्रह र २०८१ मा एक मात्र मुक्तक सङ्ग्रह र एक मात्र गजल सङ्ग्रह प्रकाशित हुँदै छन् ।
९) तपाईलाई लेख्न प्रेरणा दिई रहने तत्वहरू के के छन् ?
– मेरो जीवन र लेखनको प्रेरणास्रोत र आधार मेरी स्व. आमा गङ्गादेवी सिग्देल नै हो। पछिल्लो समयमा डा. दामोदर पुडासैनी, सुरतबहादुर शाह, कलानिधि दाहाल, युवराज मैनाली नै अहिले विभिन्न विधामा लेखिरहन उत्प्रेरित गर्ने व्यक्तित्वहरू हुन् । मेरा सिर्जनाहरू विश्व परिवेश, प्रकृति, धर्म र नेपाल, नेपाली समाज र राजनीतिका सकारात्मक र नकारात्मक पक्षहरूका साथै माया, प्रेम, विछोड, संयोगबाट सिर्जित छन् ।
१०) लेख्ने रहर हो कि बाध्यता हो तपाईंको ?
– समय र परिस्थितिले लेख्न बाध्य पनि बनाउँछ तर मेरो लेख्ने रहर नै हो ।
११) साहित्यलाई अनुत्पादक क्षेत्र भन्न गरिन्छ नि तपाईलाई के लाग्छ ?
मानव सृष्टिदेखि लिएर विकासका प्रत्येक गतिविधिमा साहित्यको प्रयोग भएको हुन्छ तर पुँजीजस्तो प्रत्यक्ष प्रयोग भएको नदेखिने हुँदा अबुझहरूले साहित्य क्षेत्रलाई अनुत्पादक भन्दछन् तर साहित्य नै विकासको मेरुदण्ड हो
१२) तपाईंको साहित्य यात्राका क्रममा भएका अविस्मरणीय पलहरू छन् होला बताइदिनुस् न ?
– साहित्य लेखनमा दुरूत्साहित गर्ने र प्रोत्साहित गर्ने दुई थरी समूहबिचको दण्दमा लेख्नु पर्ने यस्ता धेरै अवस्थाहरू आउँछन् मैले एकमात्र अनुसन्धानात्मक धार्मिक कृति लेख्दा पनि एक थरी “तँ हिन्दु परिवारमा जन्मिएर अरू बिरोधी धर्महरूको कुरा किन लेख्छस्” भन्ने समूह पनि बाक्लै थियो त्यसै गरी सर्वधर्म समन्वय नै आजको विश्वको शान्ति र समुन्नतिको आधार हो भन्ने समूह पनि बाक्लै छ । त्यसैले द्वन्द्वका बिचमा नै सिर्जना गर्नु पर्दछ, आफ्नो आत्माले सत्य र उपयुक्त ठम्याएको कुरा लेख्नु पर्दछ।
१३) साहित्य लेखेर जीविका चल्दैन भन्छन, तपाईलाई के लाग्छ ?
– साहित्य लेखेर जीविका चलाउने मात्र होइन कमाउने पनि छन् । व्यवसायिक लेखकहरूले धेरै धन आर्जन गरेका छन्, लेखेर तर साहित्य लेखेरै पैसा कमाउने भन्दा गुमाउने पनि छन् । जस्तै म आफैँले घर जग्गा जोड्न पुग्ने रकम लेखेर पुस्तक प्रकाशित गरेर सक्दै छु । जसमा मलाई सन्तुष्टि मिली रहेको छ । मैले १००० वटा पुस्तक छाप्दा १-२ जना मानिसमा मात्रै सकारत्मक परिवर्तन आयो भने म आफूलाई सफल र लेखन र प्रकाशसनमा भएको खर्च सदुपयोग भएको सम्झन्छु ।
१४) साहित्यका हरेक विधामा उत्तिकै कलम चलाउनुहुन्छ, तर कुनै एक विधामात्र छान्नु पयो भने ? – परिमार्जित समयसापेक्ष आत्मिक चिन्तनमा आधारित पद्य लेखन नै मेरो रोजाई हो ।
१५) लेख्ने समय कसरी छुट्याई रहनुभएको छ ?
– कुनै पनि अन्य लत नभएकोले जति बेला फुर्सद हुन्छ म त्यति बेला नै लेख्छु ।
(१६) अहिले नेपाली भाषा साहित्यको अवस्था कस्तो छ ?
– नेपालको भौगोलिक र राजनैतिक अवस्था र अवस्थिति जुन अवस्थमा छ नेपाली साहित्य पनि विश्वको विकास र विकृति दुबैबाट अछुतो रहन सकेको छैन नेपालप्रति विश्वको पूर्वाग्रहित दृष्टिकोण भएकोले सबै साहित्यकारहरूले लोभ, पापमा नफसी धर्म, संस्कृति र भाषालाई संरक्षण, सम्वर्दन गर्न निरन्तर लागिरहनु पर्दछ र यो निरन्तरतालाई पुस्तान्तरण गर्दै लानु पर्दछ
१७) तपाईं कुन कुन कुन साहित्यिक संस्थामा आवद्ध हुनुहुन्छ रु आवद्ध संस्थाको गतिविधि बारे बताई दिनुस न ?
– म धेरै साहित्यिक संस्थाहरूसँग आबद्ध भए तापनि हाल मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँको संस्थापक अध्यक्ष छु र यसैबाट नेपाली साहित्यको क्षेत्रमा जे गर्न सकिन्छ म लागयत हाम्रा सक्रिय सदस्यसहितको टिमले मन, वचन, कर्मले कयाशील रही रहनेछ ।
हाल मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँले प्रत्येक वार्षिकोत्सवमा विभिन्न क्षेत्रजस्तै गुरुकुल, पत्रकारिता र साहित्यका विविध विधा साथै बालप्रतिभासमेत गरी १५ जना विशिष्ट व्यक्तित्त्वहरूलाई सम्मान तथा पुरस्कृत गर्ने गर्दछ
मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँ, नवपुस्तकालय साथै जेष्ठ नागरिक मिलनकेन्द्र सुकेधारा सँगको सहकार्यमा मानव पुस्तकालय कार्यक्रम साथै रचना वाचन प्रत्येक महिनाको दोस्रो शनिवार बिहान ११ बजेदेखि सञ्चालन गर्दै आएको छ ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँले आफ्नो मुख पत्रको रूपमा मुक्तिनाथ दर्शन त्रैमासिक निरन्तर प्रकाशित गर्दै आएको छ ।
१८) अन्त्यमा तपाईलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?
– स्वदेश र विदेशमा रहेका साहित्य संस्थाहरू बिच समन्वय र सहयोगको अभिवृद्धि गर्दै नेपाली धर्म, संस्कृति, साहित्य साथै भेष र भाषाको संरक्षण सम्वर्दनमा एक भई अघि बढ्न सफलता मिलोस् भन्ने म र मेरो संस्थाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । यहाँलाई मेरो विचार राख्ने सुअवसर दिनु भएकोमा यहाँ र यहाँको प्रकाशनप्रति आभार व्यक्त गर्दछु ।