कविता : जीवन यो वरदान हो

मुक्तिकाे धाम हाे काँशी आफैँ समाधिमा कठै
सद्गतार्थ छ यो पानी शवयात्रा जताततै ।।

टाेलमा छन् अझै डुङ्गा शहर जलले भरी
स्रष्टा छन् हर बन्ने यी मृदङ्ग ठाेक्दछन् हरि ।।

उत्तराखण्ड त्यस्तै छ पाकिस्तानतिरै पनि
इन्दु नद छ उर्लेकाे हिन्दुका सृष्टिका मुनि ।।

ईशकाे देशमा हेर अग्नि ताण्डव गर्दछ
अल्लाह भक्तका भक्तलाई दुःख र कष्ट छ ।।

कतै सुख्खा कतै गर्मी प्रचण्ड जे छ त्यो बढी
छट्पटी गर्छ मान्छे नै लम्पसार लडीबडी ।।

प्रकृति देवीकाे शक्ति अनन्त हेर जन्मन
कल्पना देव देवी यी मान्नेका हेर जीवन ।।

प्रपञ्च दृश्य यो सत्य पृथ्वी अग्नि जला जल
आकाश वायु यी पाँच सूर्य चन्द्र भए बल ।।

यिनैकाे नै छ मर्यादा सुख शान्ति समुन्नति
अहङ्कार गरी मान्छे ठान्छन् आफैँ जगत्पति ।।

अग्नि प्रलय वा पानी युद्धबाट यता कतै
हुन्छ हुन्छ छ यो लाेभ पापमा छ जताततै ।।

पूजा प्रकृतिको गर्ने सम्मान पनि गर्दिनु
आयु लम्बिन्छ सृष्टिकाे ख्याल यत्ति त गर्दिनु ।।

वुद्ध यशु मोहम्मद नानक कवि ईश्वर
गणेश सूर्य या विष्णु र शिव देवीका वर ।।

चाेला मानवको हो याे आशिष र ठूलाे भर
विवेक वुद्धिले पूर्ण नाँप्न सक्छ र अम्बर ?

प्रकृतिमा गरेस् प्रेम मान सम्मान लायक
प्रकृति पनि दिन्छिन् जे जे जे छन् लाभदायक ।।

पारस्परिक सम्मान चिरस्थायी बने भने
आयु लम्बिन्छ हो सत्य जुगाैँ जुगाैँ छ सप्रने ।।

अहङ्कार बढाएर नोक्सान यिनका हुँदा
मान्छे सकिन्छ यो आफैँ प्रकृति पनि झर्किंदा ।।

विवेक वुद्धिले युक्त वरदान छ याे तन
सफा हाेस् स्वार्थले हीन निष्काम कर्मकाे ऋण ।।

भए यत्ति प्रकृति र मानव निर्भयी बनी
रमाउन सबै सक्छन् सर्वत्र विजयी बनी ।।

आपसी प्रेम सद्भाव सम्मान र विवेकले
आयु बढ्दछ सर्वत्र दुवैकाे सहकार्यले ।।

गर मानव सम्मान छन् देवी देव पुज्दछाै
समालेर सबै आस्था मन कल्मष हर्दछाै ।।

विवेक बुद्धि र ज्ञान शरीर सब प्राप्त छ
गर्दैन अरु क्यै देव जिन्दगी वरदान छ ।।


कविता : जीवन यो वरदान हो