एकमात्र

(महाकाव्य)

‘ एकमात्र ‘ महाकाव्य किन लेखियाे ?

प्रत्येक प्राणीकाे जन्मपछि मृत्यु निश्चित छ । अवश्यमभावी छ तर याे स्वाभाविक अपरिहार्यतालाई कुनै पनि प्राणीले सहज स्वीकार्दैन । मानव चेतनशील प्राणी भएकाले विश्वभरका मानवमा यदाकदा केही ओैँलामा गन्न सकिने मानिसले मात्र मृत्युलाई जित्न सकेकाे सहज रूपमा लिन सकेकाे देखिन्छ। राजर्षि जनक, महर्षिमा केही र याेगीहरूमा श्री १००८ गाैराङ्ग महामुनिदेव साथै गृहस्थ मानवमा केही यस्ता व्यक्तित्वहरू छन् जसमा वि.पी. काेइराला, प्रा.डा. श्री ऋषिराम पाेखरेल, कवीन्द्र श्री कलानिधि दाहाल आदिलाई त्यस मार्गमा लक्षित साेपानका उच्चतम सिँढी उक्लिसकेकाे देखिन्छ। महामानवका रूपमा कत्ति त कृषक,गृहस्थ,जागिरदार साथै व्यापारी वा अन्य पेशा र याेगीहरूमध्येबाट पनि कत्ति ज्ञात र कत्ति अज्ञात छन् । म अजर, अमर, अविनाशी आत्मा हुँ, शरीर हाेइन । शरीर साधन मात्र हाे र याे नाशवान छ । आत्म अविनाशी छ भन्ने दृढ निश्चय नै ज्ञान र म शरीरसँगै मर्छु मेराे अस्तित्व सक्किन्छ भन्ने अज्ञानता हाे ।

विश्वमा धर्म, भाषा, भेष साथै वर्ग र राज्यका सङ्कीर्ण साेचका रेखाहरूले अनगिन्ती मानवहत्या, हिँसा र आतङ्कित अनि अपाङ्गतालाई सहन, स्वीकार्न बाध्य छन् । समयमा चेत र ज्ञान नभएका कारणले याे नरसंहार सुरुदेखि नै थियाे, छ र रहने सम्भावनालाई घटाउन राेक्न र मानवीय मूल्य र मान्यतालाई ” हामी एक हाैँ ” भन्ने सत्य स्वीकारी आत्माेन्नति वा आत्मज्ञानतर्फ मानवीय ध्यान तान्नाका लागि विविध धर्म, भाषा र सिद्धान्तका शास्त्रीय पुस्तकहरू वेद,गीता, उपनिषद, पुराण, कुरान, बाइबल,त्रिपिटक,धम्मपद आदि ग्रन्थ र व्यवहारिक व्यक्तिगत खाेज अनुसन्धानकाे परिणामस्वरूप याे ‘एकमात्र’ महाकाव्य तयार गरी हजुरहरूका समक्ष प्रस्तुत गरेकाे छु । नि:शुल्क याे महाकाव्य अध्ययनार्थ सुलभ प्राप्त हाेस् भनी मेराे वेव पेजमा पढ्न र डाउनलाेड गर्न मिल्ने गरी राखेकाे छु । यसमा कुनै त्रुटि देखिएमा अर्काे संस्करणमा सच्याउनाका लागि हजुरहरूकाे सुझाव र सल्लाहकाे अपेक्षा
गर्दछु ।

महाकाव्यकार – हरिभक्त सिग्देल ‘ महेश ‘

ई–बुक पढ्नुहोस् ।