श्री दुर्गा सप्तशती (चण्डी)

“देवीले भनिन्— म ब्रह्मस्वरूप हुँ । मबाट नै प्रकृति–पुरुषात्मक सद्रूप र असद्रूप जगत् उत्पन्न भएको हो । म नै आनन्द र अनानन्दरूप हुँ । म नै विज्ञान र अविज्ञान रूप हुँ । अवश्य जान्नैपर्ने ब्रह्म र अब्रह्म पनि म नै हुँ । पञ्चकृत अपञ्चकृत महाभूत पनि मै हुँ । यो सारा दृश्य जगत् म नै म हुँ । वेद र अवेद म नै हुँ । विद्या र अविद्या पनि म नै हुँ । प्रकृति र प्रकृतिभन्दा फरक माथि, तल, दायाँ, बायाँ पनि म नै म हुँ ।

म नै रूद्र र वसुरूपले संचालन गर्दछु । म नै सूर्य र विश्वेदेवका रूपमा घुम्दछु । म नै मित्र, वरूण, इन्द्र र अग्निका साथै अश्विनी कुमारहरूसमेतलाई भरण–पोषण गर्दछु । मै सोम, त्वष्टा, पुषा र भगलाई धारण गर्दछु । तीनै लोकलाई आक्रान्त गर्नका लागि विशाल पाउ भएका (वासुदेव) विष्णु, ब्रह्मदेव र प्रजापतिलाई म नै धारण गर्दछु ।

देवताहरूलाई उत्तम हवि पुर्याउने र सोमरस निकाल्ने यजमानका लागि हवि र द्रव्यले युक्त धन धारण गर्दछु । म सम्पूर्ण जगत्को ईश्वरी, उपासकहरूलाई धन दिने ब्रह्मरूप र पूजा गर्न योग्य देवहरूमा मुख्य मै हुँ । म आत्मास्वरूपमा आकाशादि निर्मँण गर्दछु । मेरो स्थान आत्मास्वरूप धारण गर्ने बुद्धिवृद्धिमा छ । जो यो कुरा बुझ्दछ, जान्दछ, उसैले दैवी सम्पत्ति प्राप्त गर्दछ ।”

“त्यसैले श्री दुर्गा सप्तशती (चण्डी) कर्म, भक्ति र ज्ञानको त्रिवेणी रूप यो ग्रन्थ भक्तहरूका लागि दुःख नाशक, भुक्ति र मुक्तिदायक भएकोले सधैं विधिवत् पाठ गर्ने गरौं । दुःख, रोग, शोक आदि कष्टबाट अवश्य पार पाउने छौं ।”