गृहस्थाश्रममै मुक्ति

सत्यमय शास्वत यात्राको प्रेरणास्पद उपहार

बुद्धले भनेका थिए— फूल, चन्दन, श्रीखण्ड, चमेली कसैको सुगन्ध उल्टो हावा तिर जाँदैन तर सज्जनहरूको सुगन्ध — उल्टो हावा पट्टि जान्छ । सत्पुरुषले
सबै दिशाहरूमा सुगन्ध फैलाउँछ । — धम्मपद ५४(११)
— हरिभक्त सिग्देलका कृतिहरूले यिनै काम गरेका छन् । संस्कृत वा हिन्दीको माध्यमबाट पढ्नु पर्ने कृतिहरू नेपाली भाषामा उनले ल्याएर सुवास फैलाएका छन् ।
प्रहरी पेशाका हरिभक्त सेवामा रहँदा सत्यमेव जयेतेको आदर्शमा रमाए ।
बोले, लेखे, हिडे, हिडाए । सेवा निवृत्तिपछि इमान जमान पछि अध्ययन र लेखनमा
लागे । साथै सेवा भक्तिमा ।
मृगतृष्णा रहित यात्रा– लोभ, लालचा, इष्र्या वासना–रहित । नेपाल महात्म्य, नेपाली धरातलका वैशिष्ठयपक्ष खास गरेर आध्यात्मिक पक्षमा रमाउने उनको जीवन यात्रा बन्यो । तीन पुस्ते वैष्णव धर्मी परिवार उनको सात्विक सादगीपन । पूर्वजन्म प्रारब्धको उपज उनी — ‘नियति’ सापेक्ष जीवन यात्राको सुकर्ममय परंपरागत चिन्तन । जति गयो — सत्संग, त्यसले सुमार्ग अनि सत्कर्ममय यात्रा । ‘सत्यं शिवम् सुन्दर’ अध्यात्मको कृपा । यत्रो भौतिक संसार विज्ञानले पेलेको युग । कसरी बने आत्मिक, आत्माकेन्द्रित अन्तर्चक्षु खुल्यो— कहिले पशुपति, कहिले दक्षिणकाली, कहिले मुक्तिनाथ, कहिले खप्तड । युरोप, अमेरीका, रुस जहाँ पुगे पनि भौतिकइतर आध्यात्मिक दृष्टिको व्यापकता सघनता, सूक्ष्मता ।

‘जन्म र मृत्यु’ यी बीच जीवन । यसमा अध्यात्म र भौतिक पक्ष जीवन यात्राका सन्दर्भमा आइरहन्छन् । अध्यात्म अदृश्य जगत शक्ति वा सत्तामा विश्वास गर्छ । यसले कुनै मूलभूत सत्ताको ‘अस्तित्व’ लाई कार्य कारण संबन्ध विहीन भएर पनि विश्वास गर्छ — ‘आत्मा’ नै सबै कुरा । चैतन्य आत्म तत्व सबै ज्ञानको मूल धार ।’

प्रा. डा. खेम कोइराला बन्धु