विश्व ब्रम्हाण्डपति श्री पशुपतिनाथ

हरिभक्त सिग्देलले विभिन्न समयमा श्री पशुपतिनाथ मन्दिर परिसरमा गर्नुभएको अध्ययन र अथक मिहिनेतको फल हो । पशुपति मन्दिर परिसरको धार्मिक र साँस्कृतिक समृद्धिलाई मिहिन ढङ्गले केलाएर सिग्देलजीले हामीलाई ठूलो गुण लगाउनु भएको छ । यस पुस्तिकामा रहेको ज्ञानको भण्डारले पशुपतिनाथ भगवान् र उहाँका वरिपरि बिराजमान अन्य धेरै देवीदेवताका मठमन्दिरका बारेमा सबै नेपाली लाभान्वित हुने कुरामा कुनै द्विविधा छैन ।

–    डा. जुगल भुर्तेल

साहित्यकार हरिभक्त सिग्देल शिवत्वको खोजीमा हुनुहुन्छ । शिव, सर्वोच्चता पनि हो । शिव, शिखर पनि हो । शिव, जीवनको सर्वाधिक सुन्दर र शालीन पक्ष पनि हो । शिव बन्नु संसारकै सर्वश्रेष्ठ ज्योतिपुञ्ज जाग्नु पनि हो । शिवत्व बुद्धत्वभन्दा अझ माथिल्लो कुरा हो । साहित्यकार सिग्देल संसारकै सर्वशक्तिशाली ज्योति खोजिरहनुभएको छ, त्यो शिवमा छ, शम्भुमा छ र छ, हरहर महादेवमा ।

–    दामोदर पुडासैनी ‘किशोर’