वेब पेजमा किन ?

सानु छँदा बुबाले पाठ गर्ने गरेको सुन्थे

“ब्रह्म वेद ब्रह्मैव भवति ।”मुण्डक.३/२/९
अर्थात्, ब्रह्मलाई जान्ने साक्षात ब्रह्म नै हुन्छ ।
“तेषां न पुनावृत्तिः”वृह. ६/२/१५
अर्थात् मोक्ष प्राप्त गरेको साधक पुनः संसारमा गमन गर्दैन ।
यो मां पश्यति सर्वत्र सर्व च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।। गीता । ६/३०/
अर्थात्, जस्ले सर्वत्र सवै प्राणी चराचरमा, आत्मारूप म
वासुदेवलाई व्यापक व्याप्त देख्दछ म त्यसलाई देखिन्छु वा त्योद्वारा
म देखिन्छु वा त्यस्ता बाट म अदृश्य रहन्न ।
यस्तै,
तुलसी कृत राममायणमा
आकर चारि लाख चौरासी ।
जाति जीव जल थल नभ बासी ।।
सीय राम मय सब जग ज्ञानी ।
कराउँ प्रनाम जोरी जुग पानी ।।
अर्थात्,
चौरासी लाख योनीमा जति जीव
जल थल र नभमा रहन्छन् ती
सबै सीता राम मय जगत हो
भनी सबैलाई प्रणाम गरौ ।
यसैगरी
वसुधैव कुटुम्बकम्
पृथ्वीका समस्त प्राणीहरू कुटुम्ब हुन्, सवै सुखी हुन्, सबै, निरोगी हुन् । सबैको कल्याण होस, कहिल्यै कसैलाई पनि दुःख नहोस् भन्ने शाश्वत सत्य यथार्थका वांणीहरूले मलाई सधैं सोच्न र यी पाठ पूजा ध्यान जप ज्ञान भक्ति कर्म योग आदि विषयहरूमा चिन्तन गर्न वाध्य बनाइन्थ्यो । म सधैं ईश्वर के हो ? ईश्वर कतिवटा छन् ? धर्म के हो ? धर्म कतिवटा छन् ? वुवाले आमाले सधैं “ पूजा पाठ गर्ने घण्ट शंख बजाउने नुहाउने भगवानलाई सास्टाङ्ग दण्डवत प्रणाम गर्ने, सफा शुद्ध पोशाक लगाउने र सधैं सात्विक शाकाहारी भोजन गर्ने किन होला? यसबाट के फाईदा छ ? आदि आदि, विषयमा चिन्तन गरिरहन्थे । मेरो घरमा सधै भजन कीर्तन वा भगवत् चर्चा हुन्थ्यो निम्न विषयहरू जस्मा टाडा टाडा देखि विद्धान पण्डित, सिद्ध सन्त वैष्णवहरू रहेका हुन्थे । म कहिले पूरै सुन्थें के होला मोक्ष, भक्ती, धर्म जस्तो लाग्थ्यो कहिले खेल्नतिर दौडन्थें ।
“सर्व खल्विदं ब्रह्म”
यो सबै ब्रह्म हो अरू केही हैन । ब्रह्म एक थियो अनेक भयो र अन्तमा एक हुन्छ । त्यही ब्रह्म नै सविता हो । धाता हो, विधाता हो, वायु हो, अग्नी हो, वरूण हो, रूद्र हो, महादेव हो, सूर्य हो, चन्द्र हो, अणु हो, परमाणु हो, विन्दू हो, रुप हो, अरूप हो अन्तमा यो मात्र शाश्वत सत्य हो ।
मोक्षः
संसार बन्धनबाट छुटकारा पाउनु नै मुक्ति हो या मोक्ष हो । मनुष्यका लागि संसार नै बन्धनको कारण हो । वन्धन रूपी कर्मको फलस्वरूपनै संसारमा आसक्ति उत्पन्न हुन्छ । त्यसैले मोक्षको साधन कर्म हैन ज्ञान नै हो ।
“ऋते ज्ञानान्न मुक्ति”
ज्ञानबाटनै मुक्ति हुन्छ । बिना ज्ञान मुक्ति हुंदैन ।
“अज्ञानिनावृतं ज्ञानं तेन मुहयन्ति जन्तवः।”
ज्ञान अज्ञानबाट ढाकिएको छ त्यसैले जीव संसारमा मोहित
हुन्छ ।
“ज्ञानाग्नि : सर्वकर्माणी भस्मसात् करूते तथा” (गीता ४/३६)
ज्ञानरुपी अग्निले सम्पूर्ण कर्महरूलाई भस्म गरिदिन्छ त्यसपछि साधकले
मोक्ष प्राप्त गर्दछ ।
भिघ्यते हृदयग्रन्थिश्छिघ्न्यते सर्वसंशयाः ।
क्षीयन्ते चास्य कर्माणि तस्मिन्दृष्टे परावरे ।।
                               – मुण्डको पनिषद (२/२/८)
बुद्धिमान, सूक्ष्मदर्शी योगी परमात्माको त्यो स्थानलाई देख्दछ, जहाँ सारा संसार स्थित छ । जब साधक त्यस अवस्थामा पुगेर त्यस चैतन्य ज्योति आत्माको साक्षात्कार गर्दछ, त्यसपछि उसको ह्दयका ग्रन्थि टुट्नगै सबै संसय समाप्त हुन्छ । उसका कर्महरू पनि सकिन्छन्, यस्तो जीवनमुक्तिको अवस्थामा उसका सारा वन्धनहरू स्वतः नष्ट हुन्छन् ।
श्रुतिमा पनि भनिएको छ ।
जसरी बगीरहेका नदीहरू आफ्ना— आफ्ना नाम रुप छोडेर समुन्द्रमा विलीन हुन्छन् त्यसैगरी जीवनमुक्त पुरुष पनि आफ्नो नाम र रूप लाई त्यागेर घटाकाश महाकाशमा मिलेजस्तै जीव र ब्रह्म एक हुन्छन् वा ऊ नै ब्रह्म स्वरूप हुन्छ ।
“अहं ब्रह्मास्मि”
म सिवाय अरू केही छैन । मेरो स्वरूप नै यो सारा संसार हो । साकार निराकार सबै ब्रह्म स्वरूप छ । त्यसैले प्राणीमात्रलाई परमात्माको स्वरूप सम्झेर मानेर उनीहरूको सेवाका लागि गरिने सबै कर्म शुभ र यी वाहेक प्राणीहरूको अहित वा उनीहरूलाई दुःख दिने कर्महरु सबै अशुभ कर्म हुन् ।
मनु महाराज मानवलाई सद्मार्ग निर्देश गर्दै भन्नु हुन्छ ।
टृष्टियूतं न्यसेत् पादं वस्रयूतं जलं पिबेत् ।
सत्ययूतां वदेद् वाचं मनः यूतं समाचरेत्”
मनु. ६/४६
आँखा ले राम्ररी हेरेर पाइला चाल्नु पर्दछ । कपडाले राम्ररी छानेर शुद्ध भएपछि मात्र पानी पिउनु पर्दछ । सत्यले राम्ररी सत्य छ कि छैन पारख गरेर सोचेर सत्य वांणी मात्र बोल्नु पर्दछ । त्यसैले सत्यमा अडेर जीवनभर मानवले सत्यकर्ममात्र गर्नु पर्दछ । यस्तो सत्कर्मको अभ्यासबाट मात्र जीवन सफल हुन्छ ।

  • भगवान् श्रीरामले पनि वसिष्ठ महाराजको उपदेश पछि त्यसलाई १४ वर्ष अभ्यास गर्नुभयो र मात्र ज्ञान प्राप्त भयो । साधना स्थिर भयो ।
  • शुकदेवजीले पनि महाराज जनकको उपदेश पछि दश वर्ष सम्म अभ्यासु गर्नु भयो । अनि मात्र साधना स्थिर भयो । अनि मात्र ज्ञान स्थिर भयो । विना अभ्यास ज्ञान स्थिर हुदैन ।

त्यसैले साधकले ज्ञान, भक्ति, योग वा कर्म मध्ये कुनै पनि बाटोलाई पच्छ्याई निरन्तर अभ्यास गरेमा, स्वार्थ रहित साधनामा निरन्तर लागिरहेमा साधकले मोक्षको इच्छा गरोस वा नगरोस उसलाई मुक्ति मिल्दछ, ज्ञान मिल्दछ, यो ध्रुब सत्य हो भनेर वहाँहरूले भनेको सुन्थे । म नेपाली नेपालीको छोरो नेपालमै हुर्के बडेँ पढेँ । गाउँघरमा सहर वस्तीमा पुगेँ एउटै समस्या देखियो समुन्द्रपार गर्नलाई डुङ्गा नै छैन, खोला तर्नलाई साँघु नै छैन । पण्डित गुरुहरूले कुनै भक्तहरूका घरमा पुराण, सप्ताह वाचन गर्नुहुन्छ । केही मान्छेहरू आउँछन् सुन्छन् भक्ति, ज्ञान लाभ गर्दछन् यसबाट पुरै गाउँ वस्ती लाभान्वित हुन सकेको देखिदैन । भानुभक्तको रामायण नेपालका वस्ती–वस्तीमा छ भने भारतका गल्ली–गल्लीमा तुलसीकृत रामायण पनि भेटिन्छन् । गोरखापुर गीता प्रेसले मुद्रण गरेका धार्मिक पुस्तकरू पनि भारतका घर–घरमा भेटिन्छन् जसले भारतलाई आफ्नो संस्कार र सँस्कृति संरक्षण र सम्वर्धन गर्न ठूलो भूमिका निर्वाह गरिरहेको छ ।

हाम्रो सन्दर्भमा नेपालीले बुझ्ने सरल भाषा र लोक लयमा हाम्रा धार्मिक, साँस्कृतिक कुराहरू समेटीएका पुस्तकहरू जसले साँघुको, पुलको, डुंगाको र जहाजको काम गरोस भन्ने विचार धेरै वर्ष पहिले देखिनै आएको हो । यसैक्रममा विश्व ब्रह्माण्डपति श्री पशुपतिनाथका असीम कृपा स्वरुप मैले धेरै त्यागी सिद्ध तपश्वीहरू सँग सानिध्यता प्राप्त गर्ने  सुअवसर प्राप्त गरें । यसै क्रममा  श्रद्धये श्री १००८ गौराङ्ग महामुनीदेव, श्री १००८ श्याम चेतन बाबा, गुरु श्री १००८ छिप्रनाथजी महाराज, श्रद्धेय श्री १००८ बालुवा बाबा (शिवपुरी बाबाका चेला), श्री १००८ योगी नरहरीनाथज्यू, गुरुभाई श्री १००८ चुनचुन बाबा, श्री १००८ सिद्ध बाबा र अन्य मनुष्य रुपमा विचरण गर्दै तिर्थाटनमा यस क्षेत्रमा आउने तपश्वी सिद्धहरू । जसको दर्शन, सेवा, उठवससँगै उध्र्वाम्नाय श्री काशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य अनन्त श्री विभूषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी महाराज, जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यज्यूका साथै श्रद्धेय गुरु प्रा.डा. श्री ऋषिराम पोखरेलज्यू, सन्त शिरोमणी आचार्य खेमराज केशवशरणज्यू, गुरु डा. रघुनाथ अयार्ल ज्यू गुरु बालयोगी गोपाल प्रेम ज्यू पशपुतिका शिवशरण  राजभण्डारीज्यू, गुरु बासुदेव कोइरालाज्यू समेतको विशेषआशिर्वाद र सहयोग स्वरुप सनातन उच्च आदर्श र मर्यादित सभ्यता जसबाट चारै पुरुषार्थ स्वरुप धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्न सकिन्छ । यस्तो सनातन धर्मका सम्वन्धमा सरल नेपाली भाषा जान्नेले पढ्न र बुझ्न सक्ने भाषामा धर्म र संस्कृतिका पुस्तकहरू नलेखिनु, प्रकाशित नहुनु, घरगाउँसम्म नपुग्नु, पुर्याउने प्रयन्त नहुनुको कारणनै हाल हाम्रो सनातन धर्ममाथि भइरहेको प्रहारको प्रमुख कारण हो भन्ने कुरामा दुई मत हुनेछैन ।

यसै अभावको पूर्तिका लागि विश्व मानचित्रमा जहाँसुकै  बसेका सनातन हिन्दू नेपालीका साथै अन्य जिज्ञासु, आर्त, अर्थाथी, ज्ञानी, भक्त आदि जुनसुकै धर्म, लिङ्ग, भाषा, भेषका मानवले आफूमा भएको ईश्वर र सत्य सम्वन्धमा नमेटीएका तृष्णाहरू पूर्ण गर्न यी पुस्तकहरूबाट गुरु कृपा र ईश्वरीय अनुग्रहले पूर्ण होस् भन्ने उद्देश्यले अभिप्रेरित भई रङ्गै रङ्गको जिन्दगानी, The Philosophy of Religions का साथै विशेषतः पञ्चामृत, श्री दुर्गा सप्तशती (चण्डी), श्रीमद्भगवद् गीता, दक्षिणकालीको सेरोफेरो, विश्व ब्रह्माण्डपति श्री पशुपतिनाथ जस्ता आध्यात्मिक पुस्तकहरू तयार गरी जिज्ञासु भक्तहरूको जिज्ञासा मेटाई धर्म, अर्थ, काम, मोक्ष आदि चारै पुरुषार्थ प्राप्त गर्न सुलभ होस भनी यो www.haribhaktasigdel.com वेभ पेज खोली जिज्ञासु भक्तहरूका सामु पस्केको छु । यसमा कुनै गल्ती वा त्रुटी भएमा सुझावका लागि अनुरोध गर्दछु ।

यहाँहरूको

हरिभक्त सिग्देल ‘महेश’